प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सवमा सरिता र ओमले नचाए दर्शक


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा गत २५ पुसबाट जारी प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ विभिन्न सांगीतिक कार्यक्रम र ब्यापार व्यबसाय सहित भव्य रुपमा चलिरहेको छ ।
माघ ६ गते (आज)सम्म रहने यो महोत्सबको आयोजना राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.ले सँयुक्त रुपमा गरेको हो । स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ आयोजित यो महोत्सवमामा दैनिक विभिन्न चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेका छन् ।

यसै क्रममा माघ ५ गते शनिबार पनि विभिन्न चर्चित कलाकारहरुले महोत्सवमा सहभागी दर्शकहरुलाई छमछमी नचाए । सो महोत्सवमा शनिबार दिउँसो ३ बजेबाट सुरु भएको सांगीतिक कार्यक्रम बेलुका ८ः३० बजेसम्म चलेको थियो । सो सांगीतिक कार्यक्रममा गायिका सरिता भारती र गायक ओम सुनारले हालै बजारमा आएको आफुहरुको लोक भाका छोड सताउन…गाएर दर्शकलाई नचाए । यी दुई कलाकार मञ्चमा उत्रँदा दर्शकले लगातार नृत्य गर्दै साथ दिएका थिए । उनीहरुले वान्स मोर भन्दै यो गीत गाउन फेरी अनुरोध पनिगरेका थिए । सो क्रममा पुन यी जोडीले अर्को गीत आमैले भन्थे धाराको पानी… प्रस्तुत गरे ।

कार्यक्रममा साँझ छिप्पिँदै जाँदा गायिका लक्ष्मी मल्ल ठकुरीले डाँडा घरे साईंली…देखि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । उनको पालामा पनि दर्शकको निकै हुटिङ देख्न पाईयो ।

कार्यक्रमको अन्तिममा मञ्चमा उत्रिएकी गायिका समीक्षा अधिकारीले पनि करिब आधा घन्टा आफ्ना चर्चित गीतहरुमार्फत दर्शकलाई नचाईन् ।

शनिबार कार्यक्रममा गायक सानु केसी, गायक हेमन्त शिशिर,जादुगर एवम् हास्य अभिनेता महादेव त्रिपाठी, मोडल संजिब ठकुरी, गायिका सिता दुलाल, गायक लेखनाथ आचार्य, मोडल पुजा क्षत्रीलगायतको गायन तथा नृत्य प्रस्तुति पनि महोत्सवको आकर्षण बनेको थियो ।

महोत्सव निकै सफल भएको आयोजक एवम् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष बरिष्ट गायक नमराज ढुँगानाले बताए । श्री स्वस्थानी मेलाको असवर पारेर आयोजना गरिएको यो महोत्सवमा दैनिक किनमेल गर्नेहरुको निकै भिड लाग्ने गरेको पनि उनले बताए ।

महोत्सवका संयोजन तथा कार्यक्रम सञ्चालन गायक सुवास महतले गर्दै आएका छन् । महोत्सवको अन्तिम दिन आईतबार लोकप्रिय गायक प्रमोद खरेलसहितका कलाकारहरुको प्रस्तुति रहने महोत्सव सँयोजक सुवास महतले जानकारी गराए ।