भुटनिज नेपालीको कथामा ‘ल्हो–छाम्पा’ निर्माण हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ माघ

भुटनिज नेपालीहरुको कथामा चलचित्र ‘ल्हो–छाम्पा’ निर्माणको घोषणा गरिएको छ । यसको शीर्षक घोषणा गरिएको हो । सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा यो चलचित्र बन्ने छ ।

चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई प्रस्तत गर्नेछ । ‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ । संगीतकार पोखरेलले चलचित्रमा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी गराए ।

चलचित्रका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ । निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए । उनले चलचित्रको सुटिङ वैशाखको दोस्रो हप्तादेखि गर्ने योजना रहेको जनाएका छन् ।

चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन् ।

निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको बताएका छन् ।

‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलत्रि निर्माण गरेका हौँ । तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ,’सुवेदीको भनाइ छ ।

चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन् । उनको यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ । नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई चलचित्र निर्देशन गरेका छन् । उनले चलचित्रले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए ।

‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ । यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ । सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ’,नरेशले बताए ।