ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ माघ
‘माया, तिमी यसलाई एक घटना सम्झ
बिन्ती यसलाई दुर्घटना नसम्झ
सम्झ सायद,
यसरी छुट्नु नै भएको थियो भेट हाम्रो…’
यो कविता अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई सुनाएको भिडियो बिहीबार सार्वजनिक भएको छ । यो कविताको हरफ फागुनको २ बाट रिलिज हुने चलचित्र ‘दुःखी आत्मा’मा समावेश गरिएको कविता हो । यसलाई कवि श्रवण मुकारुङले लेखेका हुन् । मुकारुङले लेखेको १० वटा कविताहरू यो चलचित्रमा राखिएको छ । जसमध्ये ब्रेक अप शीर्षकको कविताको भिडियो बिहीबार सार्वजनिक गरिएको हो । यो चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ ।
सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसले, फिल्ममा दया कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ । क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् ।
फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ । सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । यो फिल्मलाई निर्माणपक्षले एडल्ट ड्रामा भनेको छ ।