चलचित्र विकास बोर्डद्वारा ९७ सिनेकर्मीलाई परिचयपत्र वितरण


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ माघ

आज चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरेका हुन् । दुई दशक वा सो भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा काम गरेका सिनकर्मीलाई चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको हो ।

समारोहमा परिचयपत्र प्रदान गर्दै अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा, र सम्मान सुनिश्चित गर्न महत्त्वपूर्ण कदम भएको बताए ।

परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेसागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा, र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य राखेको छ। यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण, र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ । साथै, यसले नेपालको सांस्कृतिक संरक्षण र प्रचारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

बोर्डले प्रत्येक बर्ष विशिष्ट चलचित्र कर्मी, चलचित्र कर्मी, विशेष चलचित्र कर्मी र मानार्थ चलचित्र कर्मी शीर्षकमा परिचयपत्र प्रदान गर्ने गरेको छ । परिचय पत्र प्राप्त गर्नको लागि चलचित्र कर्मीले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्नेछ ।