काठमाडौंमा एकदिने चिनियाँ चलचित्र दिवसमा देखाईयो ३ चलचित्र


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ पुस

काठमाडौंमा ’एक दिवसीय चिनियाँ चलचित्र महोत्सव’ आयोजना गरिएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा यो महोत्सब आयोजना गरिएको हो । पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहेको महोत्सबमा कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली चलचित्रकर्मी सहभागी थिए । कार्यक्रममा चिनियाँ चलचित्रकर्मी पनि सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।

त्यस्तै आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध ठूलो कुराको लागि एउटा सुरुवाती प्रवेशद्धार रहेको बताए । ‘नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी संबन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो’, उनले भने ।

चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले कार्यक्रममा भने, ‘हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चाईना र नेपाल बीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ ।’

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका बर्षहरुमा चीन चलचित्रहरुका लागि विश्वको ठुलो बजार भैसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाँकन भएको सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा भने,‘अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने संझौता भएको थियो । यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक संबन्धो ६० बर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो । दुई देश बीच उत्सव श्रृंखलाको रुपमा यस चीन चलचित्र दिवस कार्यक्रमले दुई देशका चलचित्र निर्माता बीचको सहयोग आदान प्रदान का लागि प्लेटफर्म प्रदान गर्नेछ’ ।

चलचित्र दिवसमा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित चलचित्र ‘जी फर ग्याप’ की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जितेकी यु हङ , चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म ‘पर्सनल पर्सिसटेन्स’ का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’ का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी लगायत को टोली कार्यक्रममा सरिक थिए ।

सो क्रममा क्यूएफएक्स सिनेमाको छाया सेन्टरमा आयोजित कार्यक्रममा ३ चिनियाँ फिल्महरु, यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरियो । चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रममा फिल्म जी फर ग्यापमा आफ्नो अभिनयले दर्शकहरूमाझ लोकप्रियता कमाएकी गोल्डेन रुस्टर अवार्ड विजेता अभिनेत्री यु होङको समेत उपस्थिति थियो ।