ब्युटी न्युज नेपाल
काठमाडौं, १७ पुस
चलचित्र ‘कार्साङ’ यही २६ पुसबाट देशव्यापी रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्रका मुख्य अभिनेता दयाहाङ राईले कार्साङमा आफ्नो फरक भूमिका रहेको बताएका छन् । चलचित्रको बारेमा आफ्ना अनुभव सुनाउनले क्रममा दयाहाङले सञ्चारकर्मीलाई यो चलचित्रमा काम गर्दाको नयाँ अनुभव पनि सुनाएका छन् । यो दर्शकको मन छुने चलचित्र बनेको पनि उनले बताएका छन् । आर्थिक अवस्था कमजोर भएको चरित्रको रुपमा आफू कार्साङमा प्रस्तुत भएको दयाहाङको भनाई छ ।
अभिनेता दयाहाङले यो चलचित्रमा झाँक्रीको भूमिका निर्वाह गर्ने क्रममा आगोमा उफ्रँदा पटक्कै नपोलेको अनुभव पनि सुनाएका छन् । ‘यो चलचित्रमा झाँक्री विद्या जान्नुपर्ने मेरो चरित्र थियो । झाँक्री बन्ने क्रममा आगोमा नाच्नु पर्ने थियो ।
सिनेमा हो, चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ, तर उहाँहरू केही हुन्न, मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो ।’ दयाहाङले पत्रकारसँगको अन्तरक्रियामा भने, ‘छायांकनको क्रममा निर्देशक यमले पनि खासै केही हुँदैन भन्नुहुन्छ । कोसिस गर्छु भनेर म आगोमा पसेँ तर आगोले पोलेन । त्यो त सबै उहाँहरुसँग ज्ञानको कारणले पो रहेछ ।’
लामो अनुभव र प्रयासले झाँक्री विद्या विद्यमान रहेको उनले बताए । झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभवका कारण केही शक्ति भने यसमा रहेको उनको भनाइ छ । त्यसैले कार्साङमा आफूले कहिल्यै नगरेको अनौठो अनुभव गर्न पाएको पनि दयाहाङले बताएका छन् ।
पहिलो पटक चलचित्र कार्साङमा दयाहाङले शेर्पा चरित्र निर्वाह गरेका हुन् । यस अघि मगर, गुरुङ, तामाङ, राई, लिम्बु, भुजेलजस्ता विभिन्न जाति जनजातिको चरित्र निभाएका उनले पहिलो पटक यो चलचित्रमा शेर्पाको भूमिका निभाएका हुन् । यो चलचित्रमा काम गर्दा शेर्पा समुदायका भाषा, संस्कृति, रीतिरिवाजलाई नजिकबाट चिन्ने अबसर पाएको पनि अभिनेता दयाहाङले बताएका छन् ।