सुरु भयो जन्ते बाख्रो


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुस

हास्यप्रधान चलचित्र ‘जन्ते बाख्रो’को निर्माण सुरु गरिएको छ । यो चललचित्रको शुक्रबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै यसको निर्माण थालिएको हो । चलचित्रको छायांकन २० पौषबाट थालिने जानकारी निर्माण पक्षले दिएको हो ।

समारोहमा यो चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सिनेमालाई हरि हुँमागाईले खिच्ने छन् । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा निर्माण हुँदैछ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहने बुझ्न सकिन्छ ।