ब्युटी न्युज नेपाल
काठमाडौं, ५ पुस
५ पुस आज रिलिज हुने भनिएको चलचित्र ‘झिल्को‘ यो मितिमा आउन सकेन । सोही कारण यसको प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको जानकारी दिए । फिल्मको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए ।
अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए । ‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,‘ उनले बताए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हो ।
चलचित्रमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल प्रमुख कलाकारका रूपमा रहेका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको निर्माण टिमले जानकारी दिएको छ ।
‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो,‘ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो ।‘
फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो । केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए । ‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।
फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा फिल्म बनेको हो ।