ब्युटी न्युज नेपाल
काठमाडौं, १ पुष
आगामी महाशिवरात्री अर्थात १४ फागुनमा नयाँ चलचित्र ‘फेरि रेशम फिलिली’ प्रदर्शनको घोषणा गरिएको छ । यो चलचित्रलाई रौनक विक्रम कडेलले निर्माण गरेका हुन् । आइतबार एक पोस्टर सार्वजनिक गर्दै यो चलचित्रको रिलिज मिति तोकिएको हो ।
अब महाशिरात्रीमा यो सहित चार चलचित्र रिलिज हुने भएका छन् । सोही मितिमा यस अघि नै तीन चलचित्र लाजशरणम्, मायावी र होस्टेल ३ को घोषणा गरिएको थियो । फेरि रेशम फिलिली सो मितिमा रिलिज हुने चौथो नेपाली चलचित्र बनेको छ ।
निरोज महर्जनको निर्देशन रहेको फेरि रेशम फिलिलीमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा मुख्य अभिनेता विनय र मुख्य अभिनेत्री सुपुष्पालाई समेटिएको छ । सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको छ । २०७२ मा रिलिज भएको रेशम फिलिलीको सिक्वेलको रुपमा फेरि रेशम फिलिली निर्माण गरिएको निर्माता रौनक विक्रम कँडेलले बताएका छन् । रेशम फिलिलीमा विनयको जोडी अभिनेत्री मेनुका प्रधान थिईन् । यसपटक मेनुकाको ठाउँमा सुपष्पा रहेकी छिन् । यसपटक सिनेमामा मेनुका दोहोरिएकी छैनन् ।
यो चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ ।
सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सह–निर्माताको रुपमा एनी थापा छन् । सिनेमालाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।