प्रकाश सपुत र परीक्षापछि विल्सन विक्रम राई सोल्टिनीमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ मंसिर

प्रकाश सपूत र परीक्षा लिम्बुलाई मुख्य भूमिकामा अनुबन्धित गरेको निर्माणाधीन नेपाली चलचित्र ‘सोल्टिनी’मा विल्सन विक्रम राई (तक्मेबुढा) अनुबन्धित भएका छन् । चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ।

सोल्टिनी भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ । २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको यस चलचित्रको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।

 प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् । ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ ।