रुचाईयो कार्साङको टिजर


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ मंसिर

चलचित्र ‘कार्साङ’को रिलिज मिति नजिकिँदै छ । यसै क्रममा रिलिज गरिएको यो चलचित्रको टिजरले सम्बन्धित समुदायसँगै आम दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रको विषय, संकृतिको उठान र जिटरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यम शेर्पाले बताएका छन् ।

केही दिनअघि सार्वजनिक टिजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको कल्चर देख्न सकिन्छ । जसमा धामी बस्ने दयाहाङ राई र उनको गरिबीदेखि जितु नेपालका श्रीमान् श्रीमतीको सन्तान नहुँदाको तनावसम्म समेटिएको छ । साथै, ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइहरनु भएको छ । कमै मात्रै चलचित्रमा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,’ निर्देशक शेर्पाले भने,‘आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा र सामाजिक सञ्जालमार्फत पनि आइरहेको छ ।’

सामाजिक सञ्जाल र सुवेच्छुकहरूबाट आएको प्रतिक्रियाले पोष्टप्रोडक्सनमा रहेको चलचित्रमा मेहनत गर्ने हौसला मिलेको उनले बताए । कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि तारिफ गरेको शेर्पाले बताए ।

अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ । सिनेमाको बाल कलाकारमा राशी लिम्बु, सोहन थापा रहेका छन् ।