ब्युटी न्युज नेपाल
काठमाडौं, २४मंसिर
नेपाली चलचित्र ’बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर सम्पन्न भएको छ । यो चलचित्रलाई नेपाल र भारतमा एकसाथ ५ पुसमा रिलिज हुने भएको छ । यो चलचित्र सञ्जीव सार्कीले निर्माण गरेका हुन् । यसमा जोन राईको निर्देशन रहेको छ ।
ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको थियो । यस चलचित्रको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो । सो प्रिमियरमा चलचित्र निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । यो चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।
कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयसँगै चलचित्रको प्राविधिक पक्ष पनि विशेष प्रशंसा पाएको छ । दार्जिलिङका सुन्दर दृश्यहरूलाई खिचिएको सिनेमाटोग्राफी अत्यन्तै मनमोहक रहेको र पार्श्व सङ्गीतले चलचित्रलाई थप सुन्दर बनाएको प्रतिक्रिया प्राप्त छ ।
बम बहादुरले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । चलचित्रले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले चलचित्रलाई प्रभावकारी बनाएको प्रिमियरमा चलचित्र हेरेका दर्शकले बताए । यसको कथावस्तु बलियो मात्र नभएर संवादहरू आकर्षक, मार्मिक र जीवन्त रहेको कारण चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिए ।