फेरी रेशम फिलिलीको छायाँकन ३५ दिनमा सकियो


ब्युटी न्युज नेपाल
काठमाडौं, १९ मंसिर

रौनक विक्रम कँडेलद्धारा निर्मित चलचित्र ‘फेरी रेशम फिलिली’को एउटा गीतबाहेकको बाँकी छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।

यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन् । यो चलचित्रलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।

सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा छ । यसमा रहेका गीतमा कालीप्रसाद बासकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेकोछ ।