चलचित्र महोत्सवमा प्रेम, हेमन्त, बिजय र केशव सम्मानित


ब्युटी न्युज नेपाल
इटहरीं, १० मँसिर

नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशद्वारा आयोजित ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’मा विभिन्न कलाकारलाई सम्मान गरिएको छ । यो महोत्सब झापाको बिर्तामोड नगरपालिका–५, धर्मकाँटा रोडमा सफलतापूर्वक सम्पन्न भएको छ । यो महोत्सवको चलचित्र तर्फका गतिविधिहरु भने सम्पन्न भएको हो । समापन समारोहमा कोशी प्रदेशका ५ जना वरिष्ठ कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अभिनेता प्रेम सुब्बा, हेमन्त बुढाथोकी, निर्देशक बिजय केरुङ, कलाकार तथा निर्माता केशव रायमाझी र द्वन्द कलाकार संघका अध्यक्ष विपिन प्रसाईं रहेका थिए ।

नेपाल तामाङ घेदुङ बिर्तामोड नगरसमितीले आयोजना गरेको मेला तथा साङितिक कार्यक्रम भने यथावत नै रहेको छ । मङ्सिर ३ गतेदेखि सुरु भएको चलचित्र महोत्सव मङ्सिर ९ गते समापन गरिएको हो ।

कलाकार रायमाझी काठमाडौँमा रहेकाले सम्मान ग्रहण गर्न उपस्थित हुन सकेनन् । महोत्सवको समापन समारोह आयोजक संस्थाका अध्यक्ष केवल तामाङको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा केचना–कन्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव कुमार धौराली रहेका थिए । विशेष अतिथिका रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका शाखा अधिकृत नारायण भण्डारी र सञ्चार शाखा प्रमुख सौगात लिम्बू रहेका थिए ।

महोत्सवको महत्वपूर्ण कार्यक्रममध्ये ‘अभिनय कार्यशाला’ पनि रहेको थियो । उक्त कार्यशालामा झापाका ३० जना सहभागी भएका थिए । प्रेमगीत र खजुरे ब्रो फिल्मका मनिष राउतले उक्त कार्यशालामा प्रशिक्षण दिएका थिए । फिल्म निर्माणमा स्नातक गरेका र एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकका रूपमा कार्यरत राउतले सहभागीलाई अभिनयको प्रयोगात्मक ज्ञान दिएका थिए । समापन समारोहमा कार्यशालामा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवका क्रममा कोशी प्रदेशमै निर्मित तथा कोशी प्रदेशकै कलाकारहरूको अभिनय समावेश भएका ७ वटा फिल्म प्रदर्शन गरियो ।

ती फिल्महरूमा माङेना, वानर सेना, लिलामे माईला, नालापानी, कृष्णलिला, बिहेपास र चारदाम रहेका थिए । समापन समारोहमा यी फिल्मका निर्माण टिमलाई कदरपत्र प्रदान समेत गरियो । आयोजक संस्थाका अध्यक्ष केवल तामाङले महोत्सवमार्फत कोशी प्रदेशका सिनेमालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न प्रयास गरिएको बताए । यस्तै खुला चौरमा ठूलो एलईडी स्क्रीनमार्फत फिल्म देखाउने नयाँ शैलीको सुरुवात गरिएको र यसले धेरैको ध्यान आकर्षित गरेको संघका वरिष्ठ उपाध्यक्ष सुबास मेचेको भनाई छ । महोत्सवले झापा जिल्लामा चलचित्र तथा पर्यटनको महत्वलाई बढाउन योगदान गरेको मेचेको भनाइ छ ।