गोर्खा : बिनिथ द ब्रेभरी स्पेनिष भाषामा अमाजोन प्राईमबाट आउने


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ मँसिर

प्रदीप शाही निर्देशित फिल्म गोर्खा : बिनिथ द ब्रेभरी स्पेनिष भाषामा डबिंग गरेर अमाजोन प्राइममा रिलिज हुने भएको छ । यो चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो ।

गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो फिल्म निर्माण भएको हो । फिल्ममा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । फिल्मको पुरै छायाङ्कन बेलायतमा गरिएको हो । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

यो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमाजोन प्राइमबाट ९० देशमा रिलिज हुन लागेको हो । यस अघि अंग्रेजी भाषामा फिल्म अमेरिका युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिएको थियो।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठुलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाइएको थियो । यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

प्रदीप शाहीको निर्देशनमा बनेको गोर्खा : बिनिथ द ब्रेभरी, अन्तीम संस्कार  प्रदर्शनमा आइ सकेको छ । लामो समय देखि बेलायतमा बस्दै आएका प्रदीप शाही अन्तराष्ट्रिय स्तरमा नेपाली सिनेमाको बजार खोजीमा सक्रिय रुपमा लागि परि रहेका छन् ।