ब्युटी न्युज नेपाल
काठमाडौं, २८ कात्तिक
चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘भगवान नै आमा हुन…’ गीत आमामा समर्पित छ । गीतमा आमाको सन्तानप्रतिको मायाँबारे चर्चा गरिएको छ । यो गीत दुई दिन अघिमात्र तयार गरिएको हो । गीतको भिडियो पनि हतारमा बनाईएको देखिन्छ । यो गीतलाई सत्यराज आचार्यले गाएका हुन् । आचार्यको स्वरमा गीत माधुर्य सुनिएको छ ।
सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । उनको अभिनय मनछुने लाग्छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।