थप बयानको लागि रवि लामिछानेलाई पोखराबाट बुटवल लगियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज विहान कास्कीबाट रुपन्देहीको बुटवल लगिएको छ । दुई दिन अघि उनलाई १३ दिन म्याद थपेर अनुसन्धानको लागि हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको थियो । त्यसपछि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनलाई बयानको लागि आज बुटबल लगिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न म्याद थप गरेको हो ।

अब बुटबलको प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्ने भएको छ ।

आज विहान ७ बजे बुद्ध एयरको उडानबाट भैरहवा विमानस्थल हुँदै त्यहाँबाट प्रहरीको गाडीमा उनलाई बुटवल लगिएको हो । उनलाई बयानको लागि बुटबल लैजाँदा भैरहवा र बुटबलमा उनका पार्टीका कार्यकार्ताले लामिछानेको पक्ष र सरकारको विपक्षमा नारावाजी समेत गरेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।उनलाई बुटबलमा प्रहरीले अनुसन्धान सकेपछि पुन कास्की फकाउने प्रहरीको भनाई छ ।