पूर्णबहादुरको सारँगीको कथा डा. शिबशँकर बस्यालको उपन्यासबाट चोरेको आरोप


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ कात्तिक

यतिबेला मुलुकभर हाउसफुलका साथ प्रदर्शन भईरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीको मूल कथा मौलिक नभएर एउटा उपन्यासबाट चोरिएको आरोप लागेको छ । यो चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले मौलिक कथा भनेर दाबी गरिरहेको बेला यस्तो आरोप लागेको हो ।

कावासोतीबाट प्रकाशन हुँदै आएको दाउन्ने साप्ताहिक पत्रिकाका सल्लाहकार सम्पादक डा. शिबशँकर बस्यालले चलचित्र पूर्णबहादुरको सारँगीको कथा आफ्नो उपन्यास सँग्रामपुरबाट लिईएको दाबी गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा १० वटा बुँदा नै लेखेर चलचित्रको कथा चोरी नै भएको दाबी गरेका छन् । तर यसका निर्देशक तथा कथाकार सरोज पौडेलले सो कुराको पूर्ण खण्डन गर्दै आफ्नो चलचित्रले सर्वाधिक राम्रो व्यापार गरिरहेको अबस्थामा चलचित्रको व्यापारमा असर पार्न यस्तो गरिएको बताएका छन् ।

यतिबेला हिट भईरहेको चलचित्र पूर्णबहादुरको सारँगीको कथा सो चलचित्रका निर्देशक सरोज पौडेलले लेखेका हुन् । यसको पटकथा सम्बाद महेश दवाडीले लेखेका हुन् । यी दुबै लेखकले चलचित्र पूर्णबहादुरको सारँगीको कथा पूर्ण मौलिक भएको दाबी गर्दै आएका छन् । कोरोनाकालमा आफु वुवाको निधन भएपछि १३ दिन क्रिया बस्दै गर्दा त्यो समय यो कथा लेखेको सरोजले बताएका छन् । कथाको सार मिल्नुलाई उनले सामान्य लिएका छन् । कथा आफुले नचोरेको र मौलिक सृजना गरेको निर्देशक तथा कथाकार पौडेलले दाबी गरेका छन् ।

तर उपन्यासकार डा. शिब शँकर बस्यालले यो चलचित्रको ट्रेलर हेर्दा नै कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो भनेका छन् । डा. बस्यालले आफु बिरामी हुँदा एक पाठकले फोन गरेर चलचित्र पूर्णबहादुरको सारँगीको कथा आफ्नो उपन्यासको कथासँग हुबहु मिलेको बताएपछि आफु छाँगाबाट खसेजस्तो भएको बताएका छन् । त्यसपछि आफु बिरामी अबस्थामा यो चलचित्र हेर्न फिल्म हलमा गएको र फिल्म हेर्दा सँग्रामपुर उपन्यास र पूर्णबहादुरको सारँगीको मुल कथा उस्तै लागेको बताएका छन् । आफुले उपन्यास र चलचित्रको कथा जुधाउँदा चलचित्रको मूल कथासँग मिलेको दाबी सहित उनले यसरी सुरुदेखि अन्त्यसम्म मिलेको कथाको १० बुँदा सार्वजनिक गरेका छन् । सार्वजनिक बुँदा फिल्मको मूल कथासँग मिलेको पनि देखिन्छ।

उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको तर पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्ध लगायतका फिल्मको मूल भावसँग मेल खाएको उनको दाबी छ । फिल्ममा मूल पात्र पूर्ण अर्थात् विजय बराल र कमल अर्थात् बाल कलाकार र प्रकाश सपूत रहेका छन् । चलचित्रमा पूर्णको सहयोगीमा गन्धर्व नै बनेका अर्का पात्र मुकुन भुसाल छन भने भरियाको रुपमा बुद्धि तामाङ रहेका छन् । यो कुरा पनि उपन्यासको कथाको प्लटसँग उस्तै हरेको डाक्टर बस्यालले बताएका छन् ।

उपन्यासको कथाले प्रस्ट्याउँदै उनले लेखेका छन्,‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन्,’ तर उपन्यासको थोरै प्रसङ्गहरू यो चलचित्रमा बिलकुल विपरीत रूपमा प्रयोग गरिएको पनि उनले बताएका छन् । जस्तै पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । तर आफ्नो उपन्यासमा पात्रले क्रान्तिले नफरत नगरेर अँगालेको पनि उनले बताएका छन् । तसर्थ यो संयोग होइन,यो नियोजित हो भनेर उपन्यासकारले भनेका छन् ।

उनले आफ्नो उपन्यासका प्रसङ्ग र पूर्ण बहादुरको सारङ्गीको मूल कथामा मिलेको प्रसङ्ग नौ बुँदामा सार्वजनिक गरेका छन् ।

१– पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।

२– पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग सङ्ग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।

३–छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमान सङ मिल्दा छन्।

४–आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।
५–जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
६–पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।

७– त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताएका छन् ।
८–सङ्ग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९–बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु।
१०– रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।

उनले माथिका बुँदा कथाका मूल प्रसङ्गहरू रहेको भन्दै यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव फिल्मभित्र देख्न पाइने पनि उनले बताएका छन् ।

आफुले यो उपन्यास चार वर्ष अघि कोरोनाको बेला लेखेर प्रकाशनमा ल्याएको र त्यतिबेलाबाट यो उपन्यास बजारमा रहेको पनि उपन्यासकार बस्यालले बताएका छन् ।

एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च रचेको भन्दै कुनै लोभ लालच प्रपञ्चले यो नभनी एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व अनुसार बोलेको उनले उल्लेख गरेका छन् ।
अन्त्यमा उनले भनेका छन्, ’म अब नबोलौला, तर इतिहासमा यो कोलाहल रहिरहनेछ। मन जितिरहेको यो चलचित्रले अरू मान्छेहरूको मन जितिरहोस्। मेरो यही शुभकामना!’

यसरी आफ्नो उपन्यासको मुल कथालाई लिएर चलचित्र पूर्णबहादुरको सारँगी बनाएको डा. बस्यालले जिकिर गर्दै आएका छन् । तर यता निर्माण पक्षले चाँडै पत्रकार सम्मेलन गरेर सो यो कथाको मौलिक पनबारे जानकारी गराउने निर्देशक पौडेलले बताएका छन् ।