ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक
नेपाली चलचित्र ‘तेल भिसा’को शुक्रबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने सो क्रममा जानकारी दिईयो ।
यो चलचित्रलाई अभिनेत्री ऋचा घिमिरे र उनका श्रीमान शँकर घिमिरेले निर्माण गरेका हुन् । आफ्नो पछिल्लो चलचित्र ब्रेक फेल रिलिजको लागि क्यानडा हुँदै अमेरिका पुगेका यी दम्पत्ति १२ वर्षपछि नेपाल फर्केका हुन् । चलचित्रलाई शँकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् ।
यो चलचित्रमा विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
तेल भिसाको ट्रेलरमा अमेरिकामा रहेका नेपालीको जीवन भोगाई प्रस्तुत गरिएको छ । आफ्नो बुहारीको सुत्केसी स्याहार्न अमेरिका पुगेकी एक आमाले बुहारीसँगको मतभेदमा त्यहाँको जेलसमेत जानुपरेको कुरा पनि ट्रेलरमा उल्लेख छ । चलचित्रमा वर्षा राउतले बुहारी तथा पुजा चन्दले सासुको भूमिका निर्वाह गरेका छन् ।
यो चलचित्रमा विपिन कार्की भने वर्षा राउत र पुजा शर्माको दुबै तर्फ श्रीमान गरी दोहोरो भूमिकामा छन् । बाउ वनेका विपिन नेपालमा हुन्छन भने छोरा बनेका विपिन अमेरिकामा छन् । उनको दुबै भूमिका प्रभावशाली छ ।
यो चलचित्रमा नेपाल र अमेरिकामा परिवारका सदस्य रहँदाको समस्यालाई दर्शाईएको छ । अमेरिकामा रहेका नेपालीहरुको रोजगारी, बसाई तथा श्रमका कुरा पनि यसमा प्रस्तुत छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन रहेको छ ।