एक्सन र रोमान्सले भरिएको ह्रस्व दीर्घको ट्रेलर


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ कात्तिक

यही ३० कात्तिकमा रिलिज हुने नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर ओएसआर डिजिटल मार्फत बुधबार सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर सार्वजनिक गरियो । एक्सन र लभस्टोरी केन्द्रित कथामा निर्मित चलचित्रको ट्रेलर ससक्त छ ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको उच्च प्रयोगका कारण ह्रस्व दीर्घको ट्रेलर ग्रान्ड बनेको छ । ट्रेलरले चलचित्र पनि राम्रो बनेको सँकेत गरेको छ । ट्रेलरमा अभिनेता हरिहर अधिकारीको त्रिकोणात्मक प्रेम देखाएको छ । उनी निता ढुँगाना र गरिमा शर्मासँग प्रेममा देखिएका छन् ।

ट्रेलर अनुसार दक्षिण भारतीय अभिनेता प्रदीप रावतले महामन्थ, दुई दक्षिण भारतीय अभिनेता सुनिल बर्मा खल चरित्रमा र ब्रह्मानन्दम भने अभिनेत्री निताको मामाको भूमिकामा देखिएका छन् ।
यसमा अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु बिपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्रपनि ट्रेलरमा समेटिएका छन् ।

नीता यो फिल्मकी निर्मात्री समेत हुन् । पहिलोपटक उनले फिल्म निर्माणको अनुभव लिएकी हुन् । ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्ममा ६ करोड नेपाली खर्च भएको जानकारी दिइन् । सोचेको कुरा पूरा गर्न लडेर अगाडि बढ्यो भने सकिन्छ भन्ने अनुभव आफूले ‘ह्रस्व दीर्घ’ बनाउँदा गरेको उनको भनाई छ । भारतमा पनि फिल्म रिलिजको तयारी भइरहेको उनी बताउँछिन् ।

यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।