पूर्णबहादुरको सारँगीले उछिन्यो तिहारका सबै चलचित्रलाई


ब्युटी न्युज नेपाल
काठमाडौं, २० कात्तिक

तिहारमा रिलिज भएका सबै चलचित्रलाई ब्यबसायिक रुपमा नेपाली चलचित्र पूर्णबहादुरको सारँगीले उछिनेको छ । यो चलचित्रले तिहारमा रिलिज भएका दुई ठुलो ब्यानरको भनिएको बलिउडको चलचित्र सिंघम एगेन र भुल भुलैया ३ लाई व्यबसायिक रुपमा पछारेको छ ।

मँगलबार काठमाडौंमा क्युएफएक्सले भुल भुलैया ३ लाई २३ शो र सिंघम अगेनलाई २१ सो दिएको छ भने चलचित्र पूर्णबहादुरको सारँगीलाई ३४ शो दिएको छ । क्यूएफएक्सले यो चलचित्रलाई लक्ष्मी पुजाको दिन रिलिज हुँदा देशभर ३८ शो दिएको थियो भने यतिबेला देशभर क्युएफएक्ले मात्रै ६४ शो प्रदान गरेको छ । अन्य हलले पनि पूर्णबहादुरको सारँगीलाई उच्च शो दिएका छन् । राती पनि दर्शकले चलचित्रमो माग गरेपछि काठमाडौंको केही हलमा राती ११ बजेको पनि शो थापिएको छ ।

दर्शकले प्रसँसा गरेपछि चलचित्र पूर्णबहादुरको सारँगीको शो बृद्धि भएको हो । चलचित्र रिलिज देखि सोमबारसम्म पनि धेरै हलमा हाउसफुल देखिएको छ ।

सरोज पौडेलको कथा तथा निर्देशनमा निर्माण भएको सिनेमामा विजय बरालसँगै अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेको सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ ।