ब्युटी न्युज नेपाल
काठमाडौं, १३ कात्तिक
नेपाली चलचित्रकी लोकप्रिय अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपालहरुले स्थापना गरेका एउटा बैंक बित्तिए संस्था)को ब्रान्ड एम्बेस्डरमा चयन भएकी छिन् । नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरको लागि सरितालाई चयन गरिएको हो ।
यही नोभेमबरमा हुने बैंकको तेश्रो वार्षिक साधारण सभाबाट अभिनेत्री सरितालाई औपचारिक रुपमा अनुबन्धित गरिने भएको छ । संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो ।
बैंकका बर्तमान अध्यक्ष डा. मदन उप्रेतीले नेपाली चलचित्र तथा टेली चलचित्रमा लामो समयदेखि योगदान दिएको र यतिबेला अमेरिकामा रहेकाकारण पनि अभिनेत्री सरिता लामिछानेलाई यो नेपाली बैंकको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको बताएका छन् ।
न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छिन् ।
‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको रुपमा चयन हुन पाउँदा म झनै खुसी भएको छु ।’ सरिताले भनिन्,‘यो बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने छु । मैले ब्रान्ड एम्बेस्डरको रुपमा निर्वाह गर्नुपर्ने भूमिकालाई जिम्मेवारीपूर्वक निभाउने छु ।’