१७ विधामा एफएलएफ अवार्डको मनोनयन सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड’ को छैटौं संस्करणको मनोनयन सार्वजनिक भएको छ । फाल्गुनन्द लिङदेन फिल्मस् प्रालिले आयोजना गर्दै आएको यो अवार्डको अमेरिकामा आयोजित एक कार्यक्रममाझ मनोनयन सार्वजनिक गरिएको हो ।

अमेरिकाको न्यूयोर्कमा भएको मनोनयन सार्वजनिक कार्यक्रममा अमेरिकामा रहँदै आएका युवा व्यवसायी, सामाजिक अभियन्ता र कलाकार केशवराम राई प्रमुख अतिथी थिए । कार्यक्रममा जुरी प्रमुख निर्देशक किशोर सुब्बा, कलाकार तथा समाजसेवी ममता राई, निर्देशक गरचा किरातको पनि उपस्थिति थियो ।

यस पटक १७ विधामा यो अवार्ड प्रदान गरिने छ । अवार्डको मनोनयन अनुसार निर्देशनमा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, चन्द्र लिम्बु मनोनयनमा परेका छन् । त्यस्तै नायिकामा विमला खजुम, बबिता फोम्बो, रुपा आङबुहाङ, बबिता नेयोङ, नायकमा मौसम इम्बुङ, सुमन थाम्सुहाङ, आशाहाङ आङबो, सञ्जिब लिम्बु छन् ।

अवार्डमा गायन विधामा पुरुषतर्फ राजेशपायल राई, सुमन लिम्बु, असार सिङ निङलेखु छन् भने महिलातर्फ निरन्ता नेम्बाङ, मनु नेम्बाङ, अन्जु पन्त, श्रेयसी चेम्जङ छन् । त्यस्तै गीतसंगीतमा रिता फोम्बो, कुल्बा सुब्बा, अशोक लोहरुङ, सुवर्ण नेम्वाङ छायांकनमा सम्राट कार्की, युवराज राई, रबिन्द्र बराल मनोनयनमा परेका छन् ।