मोडलहरुलाई ‘फेस अफ क्लासिक डाइमन्ड’मा सहभागी हुन आह्वान


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक

नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले पाँचौ सिजनको ‘फेस अफ क्लासिक डाइमन्ड’को आयोजना आगामी ४ र ५ माघमा काठमाडौंमा गर्ने भएको छ । सो प्रतियोगितामा अतिथिको रुपमा सोज टपर बनेर बलिउडका कलाकार पनि नेपाल आउने छन् । यो प्रतियोगितामा भाग लिनेहरुका लागि बिहिबारबाटै फारम खुला गरिएको क्लासिक डायमन्डले जनाएको छ । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट गरेर सो जानकारी गराएको हो ।

सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले ‘फेस अफ क्लासिक डाइमन्ड’को बिजेता मोडलले शिर्ष उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको भूमिका, फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ पाउने बताए । यस्तै उत्कृष्ट १० मा पर्नेहरुले दुई दिनको फेशन शोमा र्याम्प प्रस्तुतिको अबसर पाउने पनि उनले जानकारी गराए ।

जसका लागि बिहिबारबाट प्रतियोगिताको फारम खुला गरिएको र आगामी महिना पोखरा, काठमाडौं एवम् अमेरिकामा मोडलहरुको अडिसन लिइने पनि आयोजक पक्षले जनाएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नायिकाको रुपमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा मोडलको रुपमा, मुना गौचनले बलिउडमा मोडलिङ गर्न पाएकाले यो क्षेत्रमा करिअर बनाउन चाहनेका लागि फेस अफ क्लासिक डाईमन्ड उपयुक्त प्लेटफर्म भएको पनि अध्यक्ष बाबु राजाले बताए ।

क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनका अनुसार काठमाडौं, पोखरा र अमेरिकाको अडिसनबाट छानिएका प्रतियोगीलाई एक महिना प्रशिक्षण दिएर र्याम्पमा उतारिने छ । त्यसपछि उत्कृष्ट १० हुँदै बिजेता चयन गरिने छ । ती विजेताहरू सहित उत्कृष्ट १० प्रतियोगीले आगामी ४ र ५ माघमा हुने क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा आफ्नो प्रस्तुति दिनेछन् । उनीहरुलाई क्राउनिङ पनि सोही ग्रान्ड फिनाले सामारोहमा गरिने छ ।

क्लासिक डाइमन्डले अमेरिकामा तीन वटा आउटलेट चलाउँदै आएकाले त्यहाँको अडिसनबाट चयन भएका दुई जना नेपाली मुलका मोडललाई प्रशिक्षणको लागि काठमाडौं पठाईने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए । प्रशिक्षण पछि उनीहरु पनि अन्तिम प्रतिस्पर्धामा क्राउनको लागि उत्रने छन् । यो प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् । पत्रकार भेटघाटका क्रममा पूर्व मिस नेपालद्धय माल्मिका सुब्बा, अस्मि श्रेष्ठ, मोडल सविता कार्कीलगायतले यो कार्यक्रममा नेपाली मोडलिङ क्षेत्रमा पुगेका योगदानबारे आफ्नो भनाई राखे ।