ब्युटी न्युज नेपाल
काठमाडौं, २ कात्तिक
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट लामिछानेलाई केन्द्रिय अनुसन्धान प्रहरी टोलीले पक्राउ गरेको हो । ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
पूर्व गृहमन्त्री लामिछानेविरुद्ध कास्की प्रहरीको उजुरी परेको थियो । सोही उजुरीको आधारमा अदालतबाट पक्राउको अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउका लागि केन्द्रिय अनुसन्धान ब्युरोलगायत प्रहरी निकायलाई पत्राचार गरी पक्राउको लागि अपिल गरेको थियो ।
प्रहरीले दशैं अघि पनि रबीलाई पक्राउ गर्न प्रयास गरेको थियो । तर यसपटक आफुहरु सफल भएको प्रहरीले जनाएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा मुछिएका पूर्व गृहमन्त्रीले आफु पक्राउ पर्ने पक्का भएपछि शुक्रबार साँझ पार्टी कार्यालयबाटै पक्राउ दिएका हुन् ।
पक्राउ पर्नु अघि उनले पार्टी कार्यालयमा रहेका पार्टीका पदाधिकारीसामु उनले पार्टीको चुनाव चिह्नसमेत रहेको घण्टी बजाएका थिए । उनले पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनी सरकारमाथि खनिएका थिए । साथै, आफू अभिमन्यु नभएको भनदै यो चक्रव्यूहबाट निस्किनेसमेत दाबी गरेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर भ्यानमा राखेको हो । काठमाडौंबाट पक्राउ परेका रवि लामिछानेलाई आजै कास्की लैजाने प्रहरी उपरिक्षक बोगटीले जनाएका छन् ।