दोश्रो सातामा जितुको ज्वाईं साब, थुप्रै हलमा शो थपियो


‘तेस्रो दिनबाटै ८० प्रतिशत अकुपेन्सी बढेको यो चलचित्र त्यसपछि लगातार हाउसफुल भएको छ र धेरै हलले शो पनि थपिरहनुभएको छ ।’

ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

दशैंको शुभ अबसरमा गत फुलपातीबाट नेपालमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । रमाईलो कुरा के भने यो चलचित्रको दोश्रो साता थुप्रै हलमा शोहरु थपिएको छ । यसले दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । योसँगै रिलिज भएको दुई नेपाली चलचित्र ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ ।

फिल्मका निर्देशक वसन्त निरौलाले फिल्म प्रदर्शनको दिन आफ्नो फिल्मको अकुपेन्सी कम भए पनि तेश्रो दिनबाट व्यापार बढेको र बिहिबार दोश्रो सातासम्म आइपुग्दा शोको अकुपेन्सी उत्साहजनक रुपमा बढेको बताए । ‘तेस्रो दिनबाटै ८० प्रतिशत अकुपेन्सी बढेको यो चलचित्र त्यसपछि लगातार हाउसफुल भएको छ र धेरै हलले शो पनि थपिरहनुभएको छ । फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो’, उनले भने ।

फिल्म हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा कमेडीसँगै भावुक बनाउने दृश्यले पनि दर्शकलाई हलमा तान्न फिल्म सफल भएको बुझाई निर्माण पक्षको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौलाको निर्देशन रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतका कलाकारहरूको अभिनय छ ।