सिस्नेरीको पहिरोमा पुरिएका ६ जना एन्फा खेलाडीको मृत्यु, शव काठमाडौं ल्याईयो


राष्ट्रिय समाचार समिति
काठमाडौं, १२ असोज

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो ।

मृत्यु हुनेमा सर्लाही घर भएका १३ वर्षीय आदित्य बलम्पाकी, काठमाडौं कलंकी घर भएका ११ वर्षीय प्रियन्स आचार्य, मकवानपुर हेटौंडा घर भएका १४ वर्षीय अनुपम घलान, मकवानपुरगढी घर भएका १४ वर्षीय साइमन योञ्जन, बारा निजगढका १४ वर्षीय विकल रेग्मी र मकवानपुर सिस्नेरीका १४ वर्षीय दिवश बानियाँ रहेका छन् ।

बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि फुटबल प्रशिक्षण सुरु गरेको थियो । एन्फा र विद्यालयबीच सम्झौता भए अनुसार ४० जना बालकले फुटबल सिक्दै आएका थिए ।

४३ जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भने प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ ।

एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका बिकल रेग्मी, काठमाडौंका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी रहेका छन् । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन् ।

सिस्नेरीखोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङको छोरी २० वर्षीया फूलमाया थिङलाई आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ ।

हेटौँडाबाट बागमतीहुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ । हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्तिराजपथमा पनि पहिरो आएपछि यातायात अवरुद्ध बनेको छ ।