काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला आजबाट सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

काठमाडौंमा आजबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ सुरु भएको छ । यो संगोष्ठीले शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले यो कार्यशाला आयोजना गरेको हो ।

काठमाडौंको शँखमुल स्थित एवान पार्टी भेन्युमा यो कार्यशाला सुरु भएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले नाटेश्वरको मुर्तीमा पुजा आजसहित कार्यशालाको उद्घाटन गरेकी छन् । रैथाने नृत्य प्रशिक्षणका लागि देशका विभिन्न कुनाबाट कलाकारहरु काठमाडौं आएकोमा उनीहरुको स्वागत गर्दै यस्ता प्रशिक्षणले लोकनाचको सँरक्षणमा योगदान पुग्ने शर्माले कार्यक्रममा बताईन् । एकै थलोमा नृत्य कलाकारहरुले पूर्वको साकेला र गण्डकी प्रदेशको जिवैमामा नाच सिक्नु प्रसँसनीय कार्य भएको पनि उनले बताईन् ।

यो कार्यशालामा आज पहिलो दिन बिहिबार धरानका नगेन्द्र राईले साकेला नाच सिकाए । लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले बिहिबार दिनभर राई समुदायको साकेला नाच सिकाउँदा प्रशिक्षार्थीहरु निकै उत्साहित देखिए ।

नृत्य कार्यशाला आयोजना गरिएको राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले पछिल्लो समय आधुनिक सिक्न सहज भए पनि रैथाने नाचहरु हराउँदै गएकाले यस्ता नृत्य कलाकारले सिक्नुपर्छ भनेर यो कार्यशाला आयोजना गरेको बताए । उनका अनुसार शनिबार यो कार्यशालामा लोकनृत्यको बारे बहस र छलफल गरिने छ । सो छलफलमा उठेका कुराहरुलाई कार्यपत्रको रुपमा तयार गरेर सरकारलाई बुझाउने पनि गोदारले बताए ।

गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाच सिकाईने छ । यो नाच बिहान १० बजेबाट बेलुका ५ बजेसम्म सिकाईने छ । प्रशिक्षणमा देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी नृत्यकलाकार तथा नृत्य प्रशिक्षकहरु सहभागी छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट नृत्य निर्देशक गोरे गुरुङ र नृत्य निर्देशक भिम मास्के रानाले मगर समुदायको जिवैमामा लोकनाचको प्रशिक्षण दिनेछन् ।

शनिबार भने नृत्यको बारे कार्यशाला आयोजना गरिँदैछ । कार्यशालामा नृत्यका विज्ञहरुले आफ्ना भनाई राख्ने आयोजक संस्थाका अध्यक्ष महेश गोदारले बताएका छन् ।