ब्युटी न्युज नेपाल
काठमाडौं, २६ भदौ
यही ३ असोजमा रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सो ट्रेलर रिलिज गरियो ।
सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । सिनेमाको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको देखिन्छ ।
धिरज र उपासनालाई प्रेमी–प्रेमीकाको रुपमा प्रस्तुत गरिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ । सिनेमाका मुख्य अभिनेता धिरज मगरले आफु जन्मेको गाउँमा सिनेमा छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभारी छु । २ वर्षको उमेर युके गएपनि सधैं मनमा आफ्नो जन्म गाउँको प्रचार प्रसार गर्ने इच्छा थियो । सायद यो सिनेमाबाट पुरा भयो भन्ने लागेको छ ।
यो चलचित्रमा धिरज र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।
तस्बिर : बद्री थापा / ब्युटी न्युज नेपाल