जापान र कोरियाको लागि खुस्मा बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

चलचित्र ’खुस्मा’को जापान र कोरिया राइट्स विक्रि भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्रि भएको जानकारी दिएको हो ।
यो चलचित्र संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सिनेमाको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । सिनेमाको गीत र टिजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा सिनेमाको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट सिनेमा प्रदर्शनको कुरा भैरहेकाले फाइनल भएसँगै जानकारी दिँदै जाने तयारी निर्माण कम्पनिको छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।