१२ गाउँको सिनेमा हेर्न जाउँमा समीर र सोनुको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ भदौ

चलचित्र ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत साता टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रको ‘सिनेमा हेर्न जाउँ…’ गीतको भिडियो सार्वजनिक भएको हो । यो रोमान्चक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपालको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर रहेको छ । गीत सार्वजनिक भएसँगै दर्शकले समीरको एक्सनसँगै डान्स पनि उत्कृष्ट रहेको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ ।

एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमामा गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले डेव्यु गरेकी हुन् । उनी र समीरलाई सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले सिनेमाको लागि निकै मेहनत गरेको देखाउँछ ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।