ब्युटी न्युज नेपाल
इटहरी २१ भदौ
हरितालिका तिजको अबसर पारेर नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन प्रविधि पूजासँगै शुभारम्भ गरिएको छ । मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको यसको निर्माण सुरु गरिएको हो ।
चलचित्रको छायाँकन शनिबारबाट सुरु हुनेछ । अभिनेत्री ऋचा शर्मा, समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरूको छायाङ्कन सुरु हुनेछ ।
‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ। चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। छायाङ्कनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ। करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन्।
चलचित्रको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ। निर्देशक सेनले यस चलचित्रलाई ‘महाकथा’ का रूपमा चित्रण गर्दै यो प्रोजेक्टका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।
चलचित्रमा प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहेका छन्, जसले मुम्बईमा लामो समयदेखि अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ । आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह–निर्माता प्रेम पुरी हुन् ।