आईआईएफटी पास आउट स्मिता न्यूयोर्क कटोअर फेसन विकमा चयन


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ

नेपाली फेसन डिजाइनर स्मिता राई विश्व चर्चित फेसन सप्ताह ‘न्यूयोर्क कटोअर फेसन विक–२०२४’मा छनोट भएकी छन् । अमेरिकाको फेसन सिटीको रुपमा चिनिएको न्युयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने ‘न्यूयोर्क कुटोअर फेसन विक’का लागि स्मिता छनोट भएकी हुन् ।

इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनबाट फेसन डिजाइनिङ कोर्ष गरेकी हुन् । आईआईएफटीबाट ग्राजुएट भएपछि फेसन डिजाइजिङमा सक्रिय रहेकी स्मिताले आईआईएफटी मार्फत नै नेपाललाई प्रतिनिधित्व यस फेसन वीकमा सहभागिता हुन हाल अमेरिकामा रही आफ्ना सिर्जनाहरु तयार पर्दैछन् ।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपू तेञ्जिङ्ग शेर्पाले यो फेसन वीक मा हरेक वर्ष आईआईएफटीका ग्राजुएट विद्यार्थीहरुलाई सहभागिताका लागि अवसर दिईने बताएका छन्।

यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरुले क्याटवाक गर्नेछन् । विख्यात फेसन डिजाइनर तथा मोडलहरुको प्रस्तुती रहन उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ । हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन् । न्यूयोर्क सहरमा ४० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘न्यूयोर्क कटोअर फेसन विक’जस्तो स्थापित र चर्चित फेसन सप्ताहमा आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाएपछि स्मिताले आफूलाई गौरान्वित ठानेकी छन् ।

उनले यसको श्रेय आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनलाई दिँदै भनिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा एक जना नेपालीले कला देखाउने अवसर पाउनु भनेको नेपालीकै लागि खुसीको कुरा हो ।’

उनले उक्त फेसन सप्ताहमा नेपालको राष्ट्रिय फूल लालीगुराँश र परम्परागत नेपाली ढाकाको फ्युजनमा पहिरन तयार गर्ने बताइन् । उनले भनेकी छन्, ‘मेरो डिजाइनहरू फेसनको बारेमा मात्र होइन, तिनीहरू म कहाँबाट आएको, मेरो संस्कृति, परम्परा तथा समकालीन शैलीबीचको सुन्दरलाई पनि उजागर गर्ने छु ।’ फेसनमार्फत नेपालको जीवन्तभावना र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउने आफ्नो उद्देश्य भएको पनि उनले बताएकी छन् ।