बर एन्ड वधुको ‘फ्लावर एन्ड रिफ्लेक्सन’ प्रिमियर


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

नेपाली ‘वर एण्ड वधु’को बुधबार बेलुका ललितपुरको क्युएफएक्स लविममा भव्य प्रिमियर गरिएको छ । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यसपटक उनले ‘फ्लावर एन्ड रिफ्लेक्सन’ अवधारणामा सिनेमा भवनको मुख्य ढोकाबाट भित्री द्धारसम्म दुबैतर्फ गुलावको फुलले सजिएको पराबर्तन (ऐना)को पथ बनाईएको थियो ।

बिगतमा रातो गलैंचामा हिडेर रेड कार्पेट प्रिमियरको आनन्द लिने गरेका चलचित्रकर्मीहरु यसपटक ‘फ्लावर एन्ड रिफ्लेक्सन वाक’मा केही फरक महसुस गरेका थिए ।
उनीहरुलाई दुईतर्फ फुलले सजिएको ऐनाको बाटोमा हिड्दा निकै फरक महसुस भएको थियो । अभिनेत्री उषा रजकले त ‘वा मिरर वेमा वाक । गजल कन्सेप्ट लाग्यो’ भनिन् ।सँधै आफ्नो चलचित्रको प्रिमियरमा केही फरक शैली भित्राउने निर्देशक चाम्सको यो प्रिमियर पनि पृथक थियो ।

चलचित्रको प्रिमियरमा सिनेकर्मी, सञ्चारकर्मी, राजनीतिक देखि विभिन्न सामाजिक व्यक्तिहरु सहभागी भए । प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, बागमति प्रदेशका सभामुख भुवन पाठक, अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशकहरु प्रकाश सायमी, ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, अभिनेत्रीहरु मिरुना मगर, उषा रजक, पशुपति राई, हास्य अभिनेता केदार घिमिरे, जितु नेपाललगायतले यो चलचित्र हेरे ।

चलचित्र साँच्चै अन्तराष्ट्रिय स्तरको भव्य सेटमा तयार भएको प्रतिक्रिया उनीहरुले दिए । यो चलचित्रमा आँचल शर्मा, किरण केसी, सरिता लामिछाने, अँशु महर्जन, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की, दिनेश काफ्ले, सिता न्यौपाने, रविन्द्र खड्का, बिजय लामा, राजकुमार शाह, हिमेश पन्त, हिउँवाला गौतमलगायतको कलाकारको अभिनय छ ।