ब्युटी न्युज नेपाल
काठमाडौं, ११ भदौ
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै सिनेमा ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । यस अघि यो चलचित्रको केही महत्वपूर्ण दृष्य भने खिचिएको थियो । यो चलचित्रको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।
सिनेमाकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि सिनेमाको छायांकनमा जोडिने छन् ।
केही दिनमा काठमाडौंको छायांकन सकेर सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ । सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थिो । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ ।
सिनेमामा सौगात र प्रदीपसँगै दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । सिनेमामा अभिनेता आर्यन सिग्देल पनि बिशेष भुमिकामा देखिने छन् ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड बताइएको छ ।