सन्तोष लोक्सम भए नयाँ मिस्टर नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं, १० भदौ

मिस्टर नेपाल २०२४ को उपाधी झापाका सन्तोष लोक्समले हाँसिल गरेका छन् । यो प्रतियोगिताको ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले पाँच लाख रुपियाँको विभिन्न पुरस्कार र आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अबसर पनि जितेका छन् ।

प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल २०२४ घोषित भए । उनले आगामी अक्टोबरमा थाइल्यान्डमा हुने मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै, काठमाडौंका आयुष दुलालले म्यान अफ द वल्र्ड नेपाल चुनिइ म्यान अफ द वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने भएका छन्। योगेश र आयुष दुवैले तीन लाख रुपियाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा धरानका आदेश प्रधान फस्ट र हेटौंडाका आयुष बमजन सेकेन्ड रनर अप घोषित भए । यसैगरी आयुष बोमजन मस्ट पपुलर, सन्तोष लोक्सम म्यान अफ एलिगेन्स, प्रकाश चौहान मस्ट एक्टिभ, समिर तिमिल्सिना वेस्ट स्किन, आदेश प्रधान पब्लिक च्वाइस, साकार बजिमय मस्ट इन्टिलेक्चुयल, मनोज गुरुङ वेस्ट फिजिक, आयुष दुलाल वेस्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ मिस्टर फाटोजेनिक, पियुष श्रेष्ठ मेन च्वाइस, अनिकेत प्रजापति वेस्ट हेयर, अग्रज श्रेष्ठ मिस्टर स्टाइल आइकन, सिजल कपाली मिस्टर फेसनिष्टा र मनोज गुरुङ वेस्ट स्पोर्टस्मेनसिप अवार्ड प्राप्त गरे । उपाधिका लागि देशभरका ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।

प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, श्रीकेश तेलका उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, पूर्व मिस्टर नेपाल डा. रूपक घिमिरे र सन्दीप पोखरेल निर्णायक रहेका थिए ।