तनहुँमा भएको भारतीय बस दुर्घटनामा ३९ जनाको उद्धार, १४ जनाको मृत्यु, ४ जनाको खोजी जारी


सरिता भारती, ब्युटी न्युज नेपाल
आँबुखैरेनी, ७ भदौ

आज बिहान करिब ११ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको घुम्तीमा खसेको भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार थिए । जसमध्य बेलुका ४ः३० बजेसम्म ३९ जनाको उद्धार भईसकेको छ । ती मध्य १४ जनाको निधन भएको र बाँकी २५ जनालाई घाईते अबस्थमा उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले हामीलाई बताए । यतिबेला घटना स्थलमा प्रहरी र उद्धार टोलीलाई ठुलो मात्रामा परिचालन गरिएको छ । मुख्य सडकबाट करिब ८० मिटर मुनी मर्स्याङ्दी खोलामा बस खसेका कारण उद्धारमा कठिन भईरहेको प्रहरीले जनाएका छन् ।

घाईतेमध्य केहीलाई स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार गरिँदैछ । सिकिस्त विरामीलाई भरतपुर अस्पताल र काठमाडौंको अस्पतालमा पठाईएको छ ।
घटनास्थलमा प्रहरीले मृतक र जिवितलाई छुट्याउन गाह्रो भएकाले उद्धार भएका सबैलाई एम्बुलेन्स मार्फत अस्पताल पठाउने काम भईरहेको शसस्त्र प्रहरी बलका एसएसपी माधव प्रसाद पौडेलले हामीलाई बताए । धेरैको अबस्था गम्भिर भएको पनि उनले जानकारी गराए । गाडी दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र सो बारे अनुसन्धान भईरहेको पनि उनले हामीलाई घटनास्थलमा जानकारी गराए ।

दुर्घटनाका कारण बिहान १२ बजेबाटै तनहुँबाट पोखरा तर्फ तथा काठमाडौं एवम् नारायणघाट तर्फ जाने सवारीको लाईन निकै लामो छ । घटना भएको करिब ४ घन्टापछि दिउँसो ३ बजेबाट २०, २० वटाको दरले सवारी साधन प्रहरीले खुला गरेको छ । घटना स्थलको अबस्था देखेर अरु यात्रीहरुमा एक प्रकारको त्रासदी बढेको छ । आज बेलुबा ६ बजेसम्म त्यहाँ सबैलाई उद्धार गर्ने लक्ष्य आफुहरुले लिएको प्रहरीले जनाएको छ ।

सो बसमा ४० जना यात्री र तीन जना चालकदलका सदस्यसहित ४३ जना सवार थिए । गाडीको अघिल्लो भाग सबैभन्दा बढी छती देखिएको छ । अघिल्लो भाग पानीमा डुबेको छ । त्यसैले तथापि प्रहरीले बसभित्र पसेर यात्रीलाइए निकालीरहेका छन् ।

भारतको उत्तर प्रदेशबाट आएको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाका हुँदै नेपाल पसेको हो । सो बस ८ दिनको रुट परमिट लिएर नेपाल आएको थियो । नेपालको भ्रमणमा रहेका भारतीय पर्यटकहरु बिहिबार पोखरा घुमेर पशुपतिको दर्शनको लागि शुक्रबार पोखराबाट काठमाडौं आउँदै थिए । सो क्रममा ऐना पहाडको घुम्ती कटेर अघि बढ्दै लाग्दा सो गाडी अनियन्त्रित भई सडक तल खोलामा खसेको स्थानीयहरुले बताए ।

शसस्त्र प्रहरी बल र नेपाल सैनिको उद्धार टोली आएपछि दिउँसो १२ बजेबाट सडकदेखि तल खोलासम्म डोरी टाँडेर रोपोय बनाई सो रोपोयमार्फत गाडिबाट यात्रीलाई उद्धार गरिएको थियो । आधा गाडी पानीमा खसेका कारण गाडीको अघिल्लो भागमा रहेकाहरुलाई उद्धार गर्न निकै गाह्रो भईरहेको थियो ।