ब्युटी न्युज नेपाल
काठमाडौं, १ भदौ
चलचित्र ‘द रेड सुटकेस’लाई फेरी अर्को अन्तराष्ट्रिय सफलता मिलेको छ । यो चलचित्रले अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड जितेको छ । शुक्रबार सम्पन्न फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो ।
भेनिस सिनेमा महोत्सवमा प्रिमियर भएको सिनेमा ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसले अन्य आधादर्जन अन्तराष्ट्रिय फेस्टिबलमा अवार्ड जितिसकेको छ । यो चलचित्र नेपालमा भने गत चैत ३० मा रिलिज भएको थियो ।
आफ्नो सिनेमाले अवार्ड जितेकोमा निर्माता रामकृष्ण पोखरेलले सम्पूर्ण निर्माण टिमप्रति आभार व्यक्त गरेका छन्,‘यो अवार्ड समग्र नेपाली सिनेमाकर्मी र नेपालीको उपलब्धी हो । यसले हाम्रा सिनेमा पनि कमजोर छैनन् भन्ने पुष्टि गरेको छ । यो खुसी म र मेरो टिम सम्पूर्णमा साझा गर्न चाहन्छु ।’ निर्माता पोखरेलले विज्ञप्ति मार्फत भनेका छन् ।
फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेका छन् ।