ब्युटी न्युज नेपाल
काठमाडौं, ३२ साउन
निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर शुक्रबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको १४ गतेबाट रिलिज हुँदैछ । काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो चलचित्रको ट्रेलरमा दुई धनाढ्य किशोर किशोरीबीचको दम्पले निम्त्याएको आरोह अबरोह प्रस्तुत गरिएको छ । जसमा प्रेम, रोमान्स, धोका, कमेडी र द्धन्द्धका दृष्यहरु समेटिएका छन् । नव अभिनेता विवेक र अभिनेत्री आँचलबीचको द्धन्द्धमा ट्रेलर केन्द्रित छ ।
यो चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ । विवेकले यही चलचित्रबाट नायकको रुपमा डेब्यु गर्दैछन् ।
सुदिप बरालको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै कलाकार किरण केसीले आफूले काम गरेका एक सय बढी फिल्ममध्ये यो फिल्म एक–दुई नम्बरमा पर्ने बताए ।
यस्तै, निर्देशक मिलन चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । नायक विवेक कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे ।
नायिका आँचल शर्मा फिल्म ‘वर एण्ड वधु’ दर्शकका लागि विशेष खुराक हुने बताइन् ।
फिल्मको ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेशनमा खिचिएको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।
यो चलचित्र निकै रिच बनेको छ । जसमा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।