चलचित्र तथा सिरिज निर्माण गर्दै अस्कर कलेज


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ साउन

चलचित्र सम्बन्धि अध्यापन गराउँदै आएको ‘अस्कर कलेज अफ फिल्म स्टडिज’ले आफ्नो २० औं वार्षिक उत्सब मनाएको छ । मंगलबार कलेजको २० औं वार्षिकोत्सवको अवसरमा अस्करले चलचित्र तथा सिरिज निर्माणको घोषणा समेत गरेको छ ।

कार्यक्रममा पूर्व तथा वर्तमान विद्यार्थीहरुले नृत्य, गायन तथा कविता वाचन आदि प्रस्तुति दिएका थिए । कलेजका सञ्चालक समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा भएको २० औं वार्षिकोत्सवको अवसरमा १३ औं ब्याचका विद्यार्थीहरुलाई बिदाइ र सत्रौं र अठारौं ब्याचका विद्यार्थीहरुलाई स्वागत गरियो ।

वार्षिकोत्सवका प्रमुख अतिथि तथा कलेजका संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताए । उनले नेपाली सिनेमाको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रुपमा स्थापित भइसकेको जिकिर गरे । आफू सधैं अस्कर कलेजको शुभेच्छुक रहेको बताउँदै उनले भविष्यमा पनि नयाँ पुस्ताका विद्यार्थीहरुलाई लाभ हुने काम गर्न पछि नपर्ने बताए ।

सो कलेजका प्रध्यानाध्यापक रामराजा दहालले कलेजका वर्तमान तथा दीक्षित दुवै विद्यार्थीलाई लक्षित गरी चलचित्र निर्माण गर्न लागिएको बताए,उनले भने, ‘विद्यार्थीहरुलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठूलो चिन्ता हुन्छ । त्यही चिन्ता दूर गर्न कलेजले वर्तमान तथा दीक्षित विद्यार्थीहरुलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत साधन उपलब्ध गराउने छ ।’