नम्बरी सुनको मुखियामा जमेका सरोज


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

चलचित्र नम्बरी सुन शुक्रबारबार आजबाट देशव्यापी रिलिज भएको छ । यो चलचित्रको शुक्रबार बिहान काठमाडौंमा प्रेसा शो गरियो । चलचित्रलाई सबैले राम्रो प्रतिक्रिया दिएका छन् । यो चलचित्र मुलुकका करिब ७ दर्जन सिनेमा हलमा रिलिज भएको छ ।

यो चलचित्रमा अग्रज अभिनेता सरोज खनालको ससक्त भूमिका रहेको छ । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’मा निभाएका यस्तै चरित्र भन्दा ‘नम्बरी सुन’को चरित्र फरक छ ।

‘नम्बरी सुनमा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोजले भने ।

रोजका अनुसार बास्तवमा आफू मुखिया जस्तो नदेखिए पनि रिलमा भने त्यस्तो चरित्र निर्वाह गर्दा उनलाई मज्जा लाग्दो रहेछ,‘कलाकारको पहिचान भनेकै त्यही हो । अब जस्तो देखिन्छु, त्यस्तै देखाउनु, त्यस्तै गर्नु, अथवा मलाई सजिलो हुने जनराको फिल्ममात्रै मैले गर्नु भनेको त म कलाकार नै होइन नि’, उनले भने ।

नम्बरी सुनमा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर सुरुमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले परिवारसँगै गाउँका सबैलाई माया गर्छ । फिल्मले सुन बनाउन आउनेको इतिहास बोल्छ । सुन बनाउने कामको सुरुवात मेरै घरबाट हुन्छ’, सरोजले भने, ‘विस्तारै कथा अगाडि बढ्दै गएपछि समय र परिस्थितिले उसलाई केही क्रुर पनि बनाउँछ । फिल्ममा म कमलो हृदयको मान्छे पनि छु । ट्रेलरमा हेर्नुभयो होला कि म ३,४ ठाउँ नराम्ररी रोएको छु । क्रर मान्छे त्यसरी कहिल्यै पनि रुँदैन ।’

सरोजको अनुभवमा उनीसँग कतिपय निर्देशक रिसाएका रहेछन् । ‘म काम गरेको हिसाबले न्याय दिने कोशिस गर्छु । कति निर्देशक मसँग रिसाउनु पनि हुन्छ । यो मान्छेलाई लियो भने त्यहाँ ओभरटेक गर्न खोज्छ भन्ने उहाँहरुको बुझाई छ’, सरोज भन्छन्, ‘हामी भलै क्यारेक्टर रोल गरिरहेका छौं, तर त्यो क्यारेक्टर यस्तो क्योक्टर हो, जसले मेन क्यारेक्टरलाई बुस्ट अप गर्छ । हामी नभई त्यो मान्छे फिल्मको मेन क्यारेक्टर हुनै सक्दैन । हामी लुज भयौं भने फिल्म पुरै लुज हुन्छ । फिल्ममा काम गरेको झण्डै ४० वर्ष भइसक्यो । कस्तो गर्दा राम्रो हुन्छ भनेर कसैले सल्लाह लिनुहन्छ भने दिइन्छ । हैन ‘मेरै गोरुको बाह्रै टक्का’ भन्ने निर्देशक पनि हुनुहुन्छ, उहाँहरुले जे भन्नुुन्छ त्यो पनि गर्दिन्छु ।’