लिटिल आइडल २०२४को प्रतियोगी खोजी सुरु


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ साउन

लिटिल आइडल २०२४ को खोजी सुरु गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको छ । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको यो १३औं संस्करण हो ।

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई २०८१ भदौ १ गतेदेखी प्रशिक्षण सुरु गरी भदौ २२ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइने छ ।

प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञहरुबाट समेत प्रशिक्षण दिइने छ ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष एवं वरिष्ठ साहित्यकार प्रेमकुमार राईले शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधीका कारण आवश्यक विषयमा छात्राहरुलाई दक्ष बनाउन र उनीहरुमा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास एवं व्यक्तित्व विकासका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले आठदेखी १३ वर्ष उमेर समुहका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा चारदेखी कक्षा आठसम्मका छात्राहरुको क्षमता अभिवृद्धी र उनीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न कार्यक्रम राम्रो प्लेटफर्म भएकाले सबै विद्यालय तथा अभिभावकलाई सहभागीताका लागि आवह्न गर्नुभयो ।

एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितामा सहभागी सबै छात्राहरुलाई उत्साहित गर्न र उनीहरुमा निहित क्षमता एवं दक्षता अभिवृद्धिका लागि उनीहरुको प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधी एवं ट्रफीसहित सम्मान गरिदै आएको जानकारी दिनुभयो । ‘यसले छात्राहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्नुका साथै प्रतिष्पर्धाको भावना जागृत गराउने विश्वास लिएका छौं’, अध्यक्ष राईले भन्नुभयो ।