स्नेहा भट्टराई : ७ वर्षको संघर्षपछि मोदिबेनीबाट डेब्यु


ब्युटी न्युज नेपाल
इटहरी, १४ साउन

नव अभिनेत्री स्नेहा भट्टराईले चलचित्र मोदीबेनीबाट डेब्यु गरेकी छिन् । यो फिल्म जब जब प्रदर्शनको नजिक आउदैछ, तब तब उनमा त्यो बालापनदेखीकै सपना साकारको नजिक पुग्दै गरेको अर्को सपना देखीरहेकि छन् । फिल्ममा उनी सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् ।

कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल–२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् । यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ७ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ५ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।