डब्बु र नारायणको तिमीलाई नैमा यसराज र प्रतीक्षाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन

अग्रज गीतकार डब्बु क्षत्र र गायक नारायण थापाले आफ्नो गीत तिमीलाई नै…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

गायक नारायण थापाले केही वर्ष अघि नै रेकर्ड गरेका थिए । आफ्नो गीतिसँग्रहमा उनले यो गीतलाई ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।

यो गीतकार रचनाकार डब्बु क्षत्रीका अनुसार गीतमा एक प्रेमीको प्रमिका प्रति आसक्ती प्रस्तुत गरिएको छ,‘जतिबेला पनि आफ्नै प्रेमिकालाई हेरिरहुँ र भेटिरहुँ भन्ने प्रेमीको अथाह प्रेमाशक्तिलाई यो गीतमा उल्लेख गरिएको छ । गीतसँगै भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार डब्बु क्षत्रीले भने ।

 

यो गीतमा संगीत पनि नारायण थापाले नै गरेका हुन् । सिन्धुलीका नारायण थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा संगीत सृजना पनि गर्छन । गीतमा संगीत संयोजक राजेन्द्र बजगाई र मिक्सिङ तथा मास्टरिङ मनोज परियारको रहेको छ । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । भिडियोमा यी जोडीलाई निकै आकर्षक देखिएको छ । गीतलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकन, बीरेन्द्र भाट विपिनको सम्पादन रहेको यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । रसालको कोरियोग्राफी प्रसँसनीय छ । भिडियोमा गीतकार डब्बु क्षत्रीको निर्देशन रहेको छ ।