ठुङ मारेको फोटोलाई पुरस्कार दिदै ‘सतीदेवी’


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

प्रदर्शोन्मुख चलचित्र ‘सतीदेवी’ ले महिला तथा बालिकामा समर्पित गरि फोटो प्रतियोगीता ‘ठुङ मार्नुस्,नगद पुरस्कार जित्नुस्’ घोषणा गरेको छ । निर्माण टिमले आइतबार मौलिकता झल्किने फिल्मको एउटा ग्रुप फोटो सार्वजनीक गर्दै सोही थिम अनुसारको फोटो पठाउन आव्हान गरेको हो । फोटोमा ‘सतीदेवी’ की शीर्ष अभिनेत्री मलिका महत,सृजना अधिकारी,सुजीता शिवाकोटी र तीन बालिका कलाकार–हर्षिका वली,मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एकअर्काको ठुङ मारिरहेका छन् ।

प्रतियोगीतामा सहभागी हुनका लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको एउटा फोटो खिचेर आफ्नो फेसबुक र इन्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुदैछ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी सतीदेबी नेपाली मूभिको फेसबुक पेजमा ट्याग/मेन्सन गर्ने र इन्बक्समा पठाउनु पर्ने छ । त्यसैगरी, लक्ष्मणजी इन्टाग्राममा अनिवार्य ट्याग÷मेन्सन गर्नुपर्ने छ ।

प्राप्त फोटोहरु मध्ये प्रथम स्थान हासिल गर्ने एउटा फोटोलाई रु २० हजार, दोश्रोलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार अनलाइनमार्फत प्रदान गरिने निर्माण कम्पनी दिलासा कृएसनले जनाएको छ । फोटो पठाउने अबधि साउन ३१ गते रातीसम्म तोकिएको छ भने फोटो प्रतियोगीताको निर्णय ०३ भदौमा हुने र बिजेतालाई सोही दिन नगद पुरस्कार उपलब्ध गराइने बताइएको छ ।

फिल्म नारी प्रधान कथामा भएको तथा नारीहरुको महान् पर्व तीज नजिकीरहेकाले उहाँहरुको सम्मानमा यो प्रतियोगीता आयोजना गरिएको निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीले बताएका छन् । ‘‘सतीदेवी’ पूर्णरुपले छोरी,नारी प्रधान कथामा छ । त्यसकारण उहाँहरुको सम्मान तथा अधिक सहभागीताका लागि यो प्रतियोगीता गरेका हौ,’ निर्देशक सुवेदीको भनाइ छ ।

प्रदर्शन पूर्व नै बिभिन्न उत्कृष्ट अवार्ड जितिसकेको ‘सतीदेवी’ निरन्तर चर्चामा छ । मलिकाका साथमा कुलबहादुर अधिकारी,रमेश बुढाथोकी,सृजना अधिकारी,सन्दिपबाबु लोहनी,सन्देश लिम्बू,भोला सापकोटा,सुजीता शिवाकोटी,मनिषा सापकोटा,बालिका कलाकार हर्षिका वली,मञ्जिला बाँनीयालगायतको अभिनय रहेको फिल्मले सेन्सर तथा बिशेष शोहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएको छ ।