दशौं ड्रेस टू इम्प्रेसमा जिज्ञासा, खुश्बु, सिलु र इन्द्रवती बने बिजेता


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ साउन

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन (आईआईएफटी)मा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरु आफ्नो सृजनासहित र्याम्पमा उत्रिएका छन् । (आईआईएफटी)ले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–१०’ मा उनीहरु फेशन डिजाईन प्रतिस्पर्धामा उत्रिएका हुन् ।

काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनको हलमा आयोजना गरिएको यो प्रतिस्पर्धामा विभिन्न चार विधामा प्रतिस्पर्धा गरियो । जसमा चार विधाबाट चार जना डिजाइनरहरु सर्वोत्कृष्ट भए । उनीहरुलई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरि चार समुहमा विभाजन गरि प्रतियोगिता गरिएको हो ।

यो फेसन प्रतियोगितामा ‘पारामेट्रिक प्यालेस’ विधातर्फ प्रतिस्पर्धि नम्बर ३ जिज्ञासा श्रेष्ठ सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको सेतो रङको पहिरन सर्वोत्कृष्ट भएको हो । ‘मेगलफोबिक’ शीर्षकको दोस्रो विधामा प्रतिस्पर्धि नम्बर ३६ खुश्बु सेवा सर्वोत्कृष्ट भइन् । उनले डिजाइन गरेको आकर्षक शैलीको पहिरनले प्रतिस्पर्धाका निर्णायकसंगै दर्शकको समेत मन जितेको थियो ।

तेस्रो विधा ‘क्यारिङ अवे इन डेजाभू’मा प्रतिस्पर्धि नम्बर ७७ सिलु बज्राचार्य उत्कृष्ट भईन् । यस्तैगरी ‘माइथोलोजिकल गार्डेन’ शीर्षकको चौथो विधामा प्रतिस्पर्धि नम्बर ११३ ईन्द्रावती क्षेत्री बिजेता बन्न पुगिन् ।

जनही १५ हजार रुपैयाँको दरले चारै जना विजेताहरुले नगद पुरस्कार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरि गोपाल प्रधानसहित निर्णायकहरुको समुहले नगद पुरस्कार, प्रमाणपत्र, स्यास हस्तान्तरण गरेका थिए । कार्यक्रममा आईआईएफटीबाट पासआउट भएका एक सयभन्दा बढी डिजाइनरहरुलाई पनि प्रमाणपत्र प्रदान गरियो । आईआईएफटीका प्रवन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रमलाई आईआईएफटीको नियमित कार्यक्रम भएको बताउँदै आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि यो प्रतिस्पर्धा आयोजना गरिएको बताए ।

फेसन डिजाइनिङका विद्यार्थीहरुले हप्तौंदेखिको मेहनत लगाएर तयार पारेका आकर्षक तथा मौलिक पहिरनको प्रदर्शनसहितको ‘ड्रेस टु इम्प्रेस’ ले फेसन पारखीलाई नविनतम् फेसनको बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठको भनाइ छ । यो प्रतिस्पर्धामा गायक उदय सोताङ, पत्रकार कृष्ण भट्टराईका साथमा डिजाइनरहरु कुसुम पदम श्रेष्ठ, महेश महर्जन, निशा श्रेष्ठ, गीता मिश्रलगायत निर्णायक थिए ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरिय कोर्ष अध्यापन गराउँदै आएको छ । आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेका छन् ।