लोक दोहोरी प्रतिष्ठानका कलाकारको परिवारलाई नवोदित कलेजद्धारा ५० प्रतिशत छुट


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ साउन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र नवोदित कलेज र राष्ट्रिय लोक बीच आर्थिक अवस्था कमजोर भएको कलाकारको परिवारलाई अध्ययनमा छुट दिने विषयमा ७ बुँदे सहमति भएको छ ।

कलाकारको परिवारलाई नवोदित कलेजमा अध्ययन गराएमा ५० प्रतिशत छुट दिने विषयमा दुबै पक्षबीच सहमति भएको हो । नवोदित कलेजका तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी र प्रतिष्ठानको अध्यक्ष रिता थापा बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रतिष्ठानको कार्यालय टोखामा सचिवालयको बैठकको अवसरमा नवोदित कलेजको तर्फबाट प्रिन्सिपल राजेन्द्र अधिकारी, नवोदित स्कुलका भाइस प्रिन्सिपल विकाशराज शर्माको उपस्थिति रहेको थियो । सहमति पत्रमा हस्ताक्षर गरी आजकै मितिबाट लागू हुने गरी कक्षा ११ र १२ मा अध्ययन गर्न आउने कलाकार, वाद्यवादक र प्राविधिकका परिवारलाई कलेजले ५० प्रतिशत छुट दिने र १० जनालाई निःशुल्क भर्ना दिने व्यवस्था गरेको हो ।

नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले कलाकारितामा लागेको तर आर्थिक अवस्था कमजोर भइ छोराछोरीलाई अध्ययन गराउन नपाएका अभिभावकहरुलाई भर्ना र मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरि शिक्षाबाट बञ्चित नगराउन अनुरोध गरे । कलाकार संस्कृतिका सम्वाहक हुन् अधिकारीले भने– ‘उच्च शिक्षा हासिल गर्न नपाएर कलाकारका परिवारले अप्ठ्यारोमा परेको खण्डमा प्रतिष्ठानले सिफारिस गरेबमोजिम छुटको व्यवस्था गर्नेछौं ।’ व्यवस्थापन, मानविकी, विज्ञान, कानून विषयमा अध्ययन गर्न चाहने कलाकारहरुको परिवारले प्रतिष्ठानको सिफारिसका आधारमा छुट दिने प्रिन्सिपल अधिकारीले बताए ।

त्यसैगरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले नवोदित कलेजले कलाकारको लागि सकारात्मक सोचिदिएकोमा हार्दिक आभार प्रकट गर्दै भनिन्– ‘कलाकारका छोराछोरीलाई नवोदित कलेजमा अध्ययन गर्न विशेष छुट दिने व्यवस्थाले अप्ठ्यारो अवस्थामा रहनुभएका कलाकारहरुलाई सहयोग पुग्नेछ ।’ अध्यक्ष थापाले प्रतिष्ठानको जिल्ला, प्रदेश समन्वय र केन्द्रका सदस्यहरुको परिवारले केन्द्रका पदाधिकारीहरुसँग समन्वय गरी उच्च शिक्षाका लागि नवोदित कलेजमा भर्ना हुन अनुरोध समेत गरिन् । शिक्षाबिना भविष्य अन्धकार भएको अवस्थामा नवोदित कलेजले दिएको ५० प्रतिशत छुटको व्यवस्था सह्रानीय काम भएको बताइन् ।

नवोदित कलेजमा अध्ययन गर्न र गराउन चाहने कलाकारहरु प्रतिष्ठानको जिल्ला, प्रदेश, समन्वय र केन्द्रको सदस्य एवं केन्द्रको पदाधिकारीको सिफारिस लिएर आएमा भर्ना र मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्नेछ भने १० जनासम्मलाई भर्ना निःशुल्क गर्ने गरी कलेज र प्रतिष्ठानबीच सहमति भएको छ ।