मातृका र दीपालाई भ्रष्टाचार बिरुद्ध समाचारमा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार दिईने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३१ असार

“भ्रष्टाचार विरुद्ध“को “टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार“ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित यो पुरस्कार यी दुईलाई प्रदान गर्ने निर्णय फाउन्डेसनले गरेको हो ।

दुई लाख राशिको “भ्रष्टाचार विरुद्ध“को “टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार“को नतिजा प्रकाशित गर्दै नेपाली पत्रकारितामा चर्चित प्रकरणहरुमा निष्पक्षतवरमा निडर भएर समाचार सम्प्रेषण गर्नुहुने कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वा जारी बिज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्दनमा सक्रिय छ । यहीमध्येको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार“ पत्रकार दाहाल द्वयलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष लेकालीले बताउनु भयो ।

मातृका दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, बालमन्दिर जग्गा अपचलन प्रकरण, पशुपतिनाथ जलहरी हिनामिना प्रकरण, सहकारी बचत अपचलन प्रकरण, नेपाल प्रहरीको हतियार खरिदमा भएको अनियमितता, पतञ्जली जग्गा अपचलन प्रकरण, राष्ट्रिय परिचयपत्र प्रकरण, नवलपरासीको रामग्रामको १ सय २० बिघा जग्गा हिनामिना प्रकरण चर्चित अनियमिततता तथा घोटालाका रूपमा स्थापित छन् ।

राष्ट्रिय सुरक्षा तथा अपराध, सुशासन, जनचासो र समसामयिक विषयमा केन्द्रीत पत्रकारिता गर्नु हुने दाहालले खासगरी राज्य संरक्षित तथा नीतिगत भ्रष्टाचार र यसबाट देशलाई भएको अहितका विषयमा खोजविन गर्नु हुन्छ ।

पत्रकार दीपा दाहालले बालमन्दिर जग्गा अपचलन तथा नेपाल बाल संगठनको बालगृहबाट बालबालिका बेचबिखन प्रकरण, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरण, विमानस्थल निर्माण प्रकरण, चिया विकास निगम जग्गा प्रकरण, खानेपानी प्रकरण र जुद्दोदय स्कुल प्रकरण जस्ता भ्रष्टाचार विरुद्धमा समाचार सम्प्रेषण गर्नु भएको छ ।

शिक्षा, वातावरण, स्वास्थ, वैदेशिक मामिला, महिला सशक्तीकरण र राजनीति लगायतका विषयमा समाचार सम्प्रेषण गर्नुहुने पत्रकार दीपा दाहाल सुशासन, जनचासो र समसामयिक विषयमा केन्द्रीत पत्रकारिता गर्नु हुन्छ । दाहालले नीतिगत भ्रष्टाचार र यसबाट देशलाई भएको अहितका विषयमा खोजविन गर्नु हुन्छ ।
पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने छ ।