२ वटा बस पहिरोमा बगेर त्रिशुलीमा डुब्यो, लापता हुनेमा अनुमानित ६५ जना यात्री


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असार

आज बिहान साँढे ३ बजेतिर नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस आज बिहान साढे ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

दुवै बसमा गरी ६५ जना सवार रहेको अनुमान गरिएको छ । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । तर, कति यात्रु थिए त्यसको यकिन संख्या भने आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौं र वीरगञ्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ । वास्तविक विवरण प्राप्त नभइसकेको उनले बताए ।

यसैगरी त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको छ । अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताए । हालसम्म बस फेला पर्न नसकेको यादवले जानकारी दिए ।

गणपति डिलक्सको बसमा कम्तिमा ३१ यात्रु रहेको अनुमान गरिएको छ । तर, कतिपय सिट एक जनाको नाममा एकभन्दा बढी बुक भएकाले यकिन विवरण पाउन समस्या भएको छ । त्यस्तै बीचमा कति यात्रु चढे भन्ने विवरण पनि प्राप्त नहुन्जेल यकिन विवरण आउन सकेको छैन ।

त्यस्तै वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्सको बसमा पनि कति यात्रु थिए भन्ने खुलिसकेको छैन । बस छुट्दा २१ जना यात्रु रहेको र बीचबाट थप ७ जना चढेको बताइएको छ । यसबाहेक थप विवरण प्राप्त भइनसकेकाले दुवै बसमा गरी कति यात्रु थिए भन्ने यकिन विवरण प्राप्त हुन नसकेको हो ।