नेपाल अफ्रिका फिल्म फेस्टिबलमा फुल र गोर्खा वारियर उत्कृष्ट, मिलन चाम्स, धिरेन र सरितालाई नायक नायिकाको अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

विलक्षण क्रियसन र कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट काठमाडौंमा सुरु भएको ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ । महोत्सबमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा महोत्सबमा सहभागी चलचित्रहरु मध्य उत्कृष्ट चलचित्र तथा कलाकार प्राविधिकलाई पुरस्कार प्रदान गर्दै आईतबार साँझ यो महोत्सब सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, अग्रज अभिनेत्री बसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेतीले अवार्ड प्रदान गरे ।

महोत्सबमा अफ्रिकाबाट सहभागी चलचित्रहरु मध्य उत्कृष्ट अफ्रिकन कथानक चलचित्रको अवार्ड रामदान सुलेमान निर्देशित साउथ अफ्रिका/मोजाम्बिया/जिम्बाबेको चलचित्र ‘फुल’ले जितेको छ । महोत्सबमा उत्कृष्ट अफ्रिकन बृत्तचित्रको अवार्ड तान्जानियाँ/टर्कीको बृत्तचित्र ‘ह्वाईट पोजन’ले प्राप्त गर्यो भने उत्कृष्ट लघु चलचित्रको अवार्ड क्यामरुनको लघु चलचित्र ‘सर्भाईभर’ले हाँसिल गर्यो । महोत्सबमा जुरी अवार्ड क्यामरुनको लघु चलचित्र अफस्प्रिङबाट निर्देशक टाटा फिडेलिसले हाँसिल गरे भने स्पेशल मेनसन अवार्ड जमैकाको लघु चलचित्र ‘इग्नोरेन्स इज अ लाइफस्टाईल’ले प्राप्त गर्यो । अफ्रिकन तर्फको निर्णायकमा नेपालबाट पत्रकार तथा बृत्तचित्र निर्देशक गणेश पाण्डे, चलचित्र विकाश बोर्डका सदस्य एवम् निर्देशक राजु केसी, निर्माता रौनकबिक्रम कँडेल, भारतबाट चलचित्रकर्मी राहुल बर्मा र बँगलादेशबाट चलचित्रकर्मी महम्मद शाहरियर कमल थिए ।

यस्तै नेपाली कथानक चलचित्र विधामा गोर्खा वारियर उत्कृष्ट चलचित्र बन्न सक्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्सले र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र सरी मम्बाट सरिता लामिछानेले, यही चलचित्रबाट अभिनेता जुरी अवार्ड प्रभात पाल ठकुरीले, संगीतकारको अवार्ड चलचित्र काँडेतारबाट दिपक शर्माले, गायिकाको अवार्ड काँडेतारबाटै सत्यकला राई र गायकको अवार्ड चलचित्र शिरफुलबाट आर्जन पाण्डेले प्राप्त गरे ।

यस्तै उत्कृष्ट बृत्तचित्र निर्देशकको अवार्ड यसपालीको काँचो बायुबाट भिमा मैनाली र बृत्तचित्र छायाँकारको अवार्ड जर्नी टु गोक्योबाट राजन खरेलले प्राप्त गरे । यस्तै आदिबासी चलचित्र तर्फ उत्कृष्ट अदिबासी चलचित्रको अवार्ड लोजिमाले, यही चलचित्रबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड बिमला लिम्बुले, सह अभिनेताको अवार्ड रुद्र पाहिमले प्राप्त गरे ।

उत्कृष्ट आदिबासी अभिनेताको अवार्ड चलचित्र सनाखतबाट धिरने शाक्यले हाँसिल गरे । यस्तै जुरी अवार्ड चलचित्र लिम्बु चलचित्र रितले, उत्कृष्ट निर्देशकको अवार्ड रितबाटै दिनेश लिङदेनले प्राप्त गरे । नेपाली चलचित्र , आदिबासी चलचित्र तथा बृत्तचित्रको निर्णायकमा अभिनेता बीरेन्द्र हमाल, पत्रकार प्रदिप कार्की, गायक ओम सुनार, नृत्य निर्देशक कृष्ण रसाल थिए ।

महोत्सबमा लघु चलचित्र तथा सँगीतिक लघु चलचित्रतर्फ उत्कृष्ट लघु चलचित्र निर्देशकको अवार्ड घटेरोबाट पुरुषोत्तम बस्नेतले, लघु चलचित्र अभिनेत्रीको अवार्ड मातृत्वबाट सिर्जना अधिकारीले हाँसिल गरिन् । उत्कृष्ट पटकथाको अवार्ड लघु चलचित्र धुकधुकीबाट तारा अधिकारीले, उत्कृष्ट छायाँकारको अवार्ड लघु चलचित्र रोटेन ब्लडबाट रविन आचार्यले र उत्कृष्ट लघु सांगीतिक चलचित्र संगीतकारको अवार्ड शँकर थापा ‘स्माईल’ले हाँसिल गरे । यो समुहको निर्णायकमा गायक हिमाल श्रेष्ठ, मोडलद्धय प्रतीक्षा काफ्ले र सजिना लामिछाने थिए ।

महोत्सबका प्रेस सल्लाहका बिष्णु सुवेदीले समापन समारोहलाई सहजीकरण गरेका थिए भने महोत्सबको सँयोजन गायिका तथा सञ्चारकर्मी सरिता भारतीले गरेकी थिईन । महोत्सबको समापन समारोहमा विभिन्न व्यक्तिहरु सम्मानित भए । कार्यक्रममा चलचित्र पत्रकारिता सम्मानबाट पत्रकार रघुनाथ सापकोटालाई, नेशलन इभेन्ट डिरेक्टर सम्मानबाट बालकृष्ण पोखरेललाई, चलचित्रकर्मी सम्मानबाट सुवास काफ्लेलाई, संगीतकर्मी सम्मानबाट गायक गणेश थापालाई, मेकअप आर्टिष्ट सम्मानबाट मेकअप आर्टिष्ट कमला श्रेष्ठ मनिषालाई र व्युटिसियन सम्मानबाट व्युटिसियन बिमली तामाङलाई सम्मानित गरियो ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महोत्सबको समापन समारोहलाई सम्बोधन गर्दै यो महोत्सबले नेपाल र अफ्रिकालाई चलचित्रको माध्यमबाट जोडेको बताए । उनले यो महोत्सबलाई राज्यबाट सहयोगको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाए ।

अग्रज अभिनेत्री बसुन्धरा भुसालले अघिल्लो वर्ष लघु चलचित्र अभिनेत्रीको अवार्ड आफुले जितेको र नेपालको एउटा राम्रो अन्तराष्ट्रिय चलचित्र महोत्सबको रुपमा आफुले यसलाई हेरेको बताए । महोत्सब निर्देशक डब्बु क्षत्रीले महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रको सपना अनुसार १३ वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएको जानकारी गराए ।

अफ्रिकन फिल्मका जुरी प्रमुख गणेश पाण्डे र नेपाली चलचित्रका जुरी प्रमुख बीरेन्द्र हमालले चलचित्र चयनको प्रकृयाबारे प्रकाश पारे । महोत्सबमा बीरेन्द्र हमालको प्रशिक्षणमा तीन दिनसम्म अभिनय प्रशिक्षण लिएर विधार्थीलाई सो समारोहमा प्रमाणपत्र प्रदान गरियो ।